काठमाडौं, भदौ १९ - सन्ध्या खड्का थानकोटबाट बस चढेर कलंकी पुग्दा सडक अवरुद्ध थियो । वाईसीएलले आफ्ना कार्यकर्ता छुटाउन आइतबार गरेको प्रदर्शनका कारण उनी हिँडेरै त्रिपुरेश्वरस्थित कलेज पुगिन् ।
कालीमाटीको एउटा पसलमा सजाइराखेको टपले उनको ध्यान तानेको थियो । कलेज पुगेर कलंकी घर भएकी मिल्ने साथी अनिता थापा र टेकुकी पूजा श्रेष्ठलाई समेत सुनाएकी थिइन् । कलेज छुट्टीपछि उनीहरूले त्यो टप किन्ने योजना बनाएका थिए ।
दुर्भाग्यवश १७ वषर्ीया ती छात्राको मंगलबार साँझ वीर अस्पतालको अति सघन कक्षमा उपचार गराउँदागराउँदै निधन भएको छ । उनीसँगै घाइते भएका साथी सवी शाह अहिले सोही अस्पतालको शय्याबाट उनलाई सम्झिरहेका छन् । सन्ध्याको बुधबार आर्यघाटमा अन्त्येष्टि भए पनि सवीलाई कसैले यो भनेको छैन । उनी बेलाबेला आफूसँगै प्रतीक्षालयमा बस कुर्ने सन्ध्याबारे अभिभावकलाई सोधिरहन्छन् ।
त्रिपुरेश्वर यात्रु प्रतीक्षालयमा बसिरहेका बेला पुरानो नैकापकी अनिशा केसी र थानकोटका सवी शाहसँगै बस कुरेर बसिरहँदा सन्ध्या पनि बम विस्फोटमा परेकी थिइन् ।
विस्फोटलगत्तै अनिशाको अवस्था चिन्ताजनक थियो भने सवी र सन्ध्या बेहोस थिए । घटनाको दुई दिनयता सवीले दुई साथी गुमाइसकेका छन् । उनले अनिशाको मृत्युको खबर ढिलो गरी पाएका थिए ।
सबै अभिभावकले विद्यालयले आयोजना गरेको विशेष समारोहमा आफ्ना नानीको जितको प्रमाणपत्र बुझ्ने सपना मनमा कोरेका हुन्छन् । तर दुर्भाग्य बुधबार दिउँसो छोरी पढ्ने स्कुलको ब्यानर बोकेको मौन जुलुसले घाटमा रुँदै फूलका गुच्छा, अबिर र शोकपत्र बुझाउँदा उनका बुबा नरेन्द्रका आँखाबाट आँसुको भेल बग्यो ।
झरीमा थानकोट, महादेव स्थानका सर्वसाधारण र आफन्तलगायत उक्त सामुदायिक उच्चमाविका शिक्षक र विद्यार्थीले उनलाई आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिए । उच्चमाविका मुख्य शिक्षक नरेशमान श्रेष्ठले भावविह्वल हुँदै शोकपत्र पढेर सुनाएपछि नरेन्द्रको हातमा थमाएका थिए ।
ब्रह्मनालमा सन्ध्याको शवमा ८९ वषर्ीय कान्छा हजुरबुबा बलबहादुरले चारधामको जल र टीका लगाइदिएका थिए ।
मृत्यु भएका विद्यार्थीलाई सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति र विद्यालयलाई शान्तिक्षेत्र घोषणाको माग राख्दै उच्चमाध्यमिक विद्यालय विद्यार्थी कल्याण परिषद्ले बिहीबार उपत्यकाका शिक्षण संस्थाहरू बन्द गर्ने जनाएको छ ।